केही कम्पनीहरुले दिने सेवा वा ल्याउने अफर पनि अचम्मका हुन्छन् । चीनको एउटा अनलाइन मार्फत वस्तु तथा सेवा बिक्रि गर्ने कम्पनीले यस्तै अनौठो सेवा सुरु गरेको छ । ताओबाओ डट कम नामको अनलाईन कम्पनीले एक्ला तरुनीका लागि भाडामा तन्नेरी खोजिदिने सेवा सुरु गरेको हो । घरमा बाउआमाले बिहेको कुरा गरेर कचकच गरिरहेको तर आफुलाई अहिल्यै बिहे गर्ने मन नभएका तरुनीहरुका लागि यो सेवा लक्षित छ । साथै ब्वायफ्रेण्ड पनि खोज्न नसकेको भनेर साथीहरुले होच्याउने खतरा टार्न चाहने कामकाजी ठिटीहरुका लागि पनि यो सेवा लाभदायी हुनेछ । आउँदो चिनिया नयाँ वर्षको समयमा जतिबेला त्यहाँ लगनको मौसम तथा पारिवारिक पुनर्मिलन हुन्छ त्यसबेला यो सेवा निकै चल्ने आशा कम्पनीका रहेको छ । त्यसबेला धेरै तरुनीहरुले आफुमार्फत भाडामा ब्वायफ्रेण्ड लिएर आफ्ना बाउ आमालाई आफ्नो केटा साथी रहेको देखाउँदै तत्कालको लागि बिहे टार्न सफल हुनेछन् ।

यसरी भाडामा लिइने तन्नेरीहरुलाई केटीहरुले आफुखुसी प्रयोग गर्न पाउनेछन् । भाडाका ठिटाहरु साहु तरुनीको नक्कली ब्वायफ्रेण्ड बनेर तरुनीले जसो भन्छे उसै गर्नुपर्नेछ, सँगै सपिड जानुपर्नेछ, खाना खानुपर्नेछ, युवतीका आफन्त, साथीभाई तथा बाउआमासँग भेटघाट गर्दै डिच्च दाँत देखाउनुपर्नेछ र तरुनीले चाहेको बेला चुम्बन पनि गर्नुपर्नेछ । यी भाडाका तन्नेरीहरुले यसरी दुइ दिनको प्रेमी बनेबापत मोटो रकम पाउनेछन् । यिनीहरुलाई घण्टाको आधारमा भाडामा लिने युवतीहरुले रकम भुक्तान गर्नुपर्नेछ ।